देवेन्द्र गौतम
भदौ २४, २०८२ का दिन नेपालको छातीमा ‘विराट अग्निकथा’को एउटा ज्यादै महत्वपूर्ण अध्याय मंचित हुनुभन्दा २-३ दिनअघिको कुरा हो। परापूर्वकालमा झैँ चक्रवर्ती सम्राटहरूका अश्वमेध यज्ञपछि छाडिएका घोडाहरू राष्ट्रिय सार्वभौमिकताका सिमाहरू उल्लङ्घन गर्दै बेहतास दौडिरहेका बेला त्यो ‘यज्ञ’ पंचम स्तंभकारहरूको बाक्लो उपस्थिति रहेको यस आदिभूमिमा ककसको पटकथामा, ककसको निर्देशनमा केकस्ता उद्देश्यहरू प्राप्तिका लागि आयोजन गरिएको थियो, त्यसमा घ्यूचरूसमिधादि हाल्ने ऋत्विकहरू कोको थिए त्यसबारे विशद चर्चा गर्दा एउटा खासा महाकाव्य नै तयार हुन्छ होला। त्यस्तो गुरूगंभीर ‘उद्योग’ (उद्+ योग = उद्योग अर्थात् माथि उठ्ने चेष्टा। मान्छे मार्ने जस्तो अपराधकर्मलाई पनि ‘उद्योग’ ठानिने हाम्रो खाँटी अदालती भाषामा कानूनको सर्वोपरि स्थानको कदर गर्दै यस कार्यलाई पनि ‘उद्योग’ नै ठानिने पो हो कि?) बारे धाराप्रवाह बोल्न सक्ने अर्का उद्भट वेदव्यास र तिनले भनेको गाँठी कुरो ठ्याक्कै बुझेर अविराम लिपिबद्ध गर्न समर्थ अर्का माइका लाल ऊर्फ गणेश नै चाहिने र अन्धकारको अन्त्यहीन साम्राज्यजस्तो लाग्ने यस समयमा ती दुई व्यक्तिको शायद जायजन्मसमेत नभइसकेको हुँदा यो गुरूतर दायित्व भावी पुस्तालाई नै हस्तान्तरण गरी ‘थोडा हल्का हो लेता हुँ’।
सपना र विपनाहरूमा दुस्वप्नहरूको शृंखला कुम्हालेको चक्रजस्तो चलिरहेको याममा यस पंक्तिकारले एउटा अर्को श्यामश्वेत सपना देख्यो, श्वेतभन्दा पनि श्याम (कालो) नै बढी थियो होला त्यो।
सपना यस्तो छः
झिसमिसेमा पंक्तिकार पुतलीसडक-अनामनगर चोकबाट सिंहदरबारलाई वायाँ पारेर, छेवैबाट कतै जाँदै थियो। त्यो सपना र त्यसअघिका जीवनका पानाहरू पल्टाइ हेर्दा लाग्छ, अकिंचन र अकिंचनजस्ताहरूका लागि कहिले दाहिना थियो र सिंहदरबार?
भला ऐसे बडेबडे शहरोंमे हमे कौन पुछेगा, क्योँ पुछेगा, भाइसाहब? हम किसी पावरफूल शासक लोगोँके सगे तो लगते नहीँ। ढेरसारी योग्यताएँ भी कहाँ है हममे? ऐसेमे हमारेप्रति सिंहदरबारकी बेरूखी क्या लाजमी नहीं है?
बिल्कुल बिल्कुल।
प्रजातन्त्र, मानवाधिकार, समानता, समावेशिता, सामाजिक न्याय, सुशासनका नाममा दशकौँ जेलनेल, यातना सहेकाले बाँकी जीवनभरका लागि कसैकसैले आफ्नो बपौती वा सोसरह नै ठानेको सिंहदरबार त तिनको हुन सकेन, कुर्सीसँगै ब्रह्मनाल जान्छु भन्ठानेका ‘लोकप्रिय’ पात्र त बडो ‘बेआबरू होके’ और ‘बालबाल बचके’ निकले भने कोइ क्यों आश लगाए बैठे कि ‘वहाँसे बुलावा आएगा छोटीमोटी भूमिका अदा करनेके लिए, हम युँही चलदेँगे?
गन्थन छोडेर सपनातिरै फर्कूँ। अहिले सम्झिल्याउँदा सोच्छु: त्यस ऐतिहासिक दरबारले त्यो रात यस लिनु न खानु केही नभएको पात्रसँग बिदा मागेको पो रहेछ कि त? किन होला? संझनामा बाँचिरहन?
सो क्लोज, येट सो फार, ओ सिंहदरबार?
अकिंचनको सिंहदरबार परिसरसँग ‘गोरू बेचेको साइनो’ चैत १७, २०५३ देखि मंसिर १८, २०५४ को अवधिमा अलि सघन भएको हो। त्यतिखेर त्यहाँ राष्ट्रिय कम्प्युटर केन्द्र नामक संस्था संचालनमा थियो। कीर्तिनिधि विष्ट प्रधानमन्त्रित्वकालमा पुस १५, २०३१ मा अमेरिकी सहयोगमा स्थापना गरिएको उक्त केन्द्रले कम्प्युटर प्रोग्रामिंग सम्बन्धी प्रशिक्षण दिइ दक्ष जनशक्ति उत्पादन गर्ने गर्दथ्यो। त्यही संस्थामा त्यतिखेर नेपाली र अंग्रेजी टाइपिङ सिकिसकेको अकिंचनले क्युबेसिक, टर्बो कम्प्युटर, विजुअल बेसिक र आधारभूत नेटवर्किंग आदि पढी, सामूहिक रूपमा एउटा प्रोग्रामिंगसम्बन्धी प्रजेक्ट वर्क पूरा गरी डिप्लोमा इन कम्प्युटर टेक्नोलजी (कम्प्युटर प्रविधिमा स्नातक) उपाधि प्राप्त गरेको हो। त्यतिबेला त्यहीँभित्र संसद भवन पनि थियो, रेडियो नेपाल, नेपाल टेलिविजन आदिइत्यादि त त्यतिबेला पनि छँदैथिए। नेपाली सेनाको cavalry गण पनि थियो त्यहाँ त्यतिखेर तर अहिलेजस्तो विभिन्न मन्त्रालयहरूको बाक्लो उपस्थिति त्यतिबेला थिएन, ती सिंहदरबार बाहिर छरिएर रहेका थिए। त्यसबेला प्रवेशद्वार (भद्रकाली मन्दिरतर्फ फर्केको) एउटामात्रै थियो, अहिलेजस्तो दक्षिण र पूर्वमा प्रवेशद्वारहरू थिएनन् (विक्रम संवत ५० कै दशकमा एक नामी ज्योतिषीले सिंहदरबारको दक्षिणी द्वार बन्द गर्नुपर्छ, नत्र अनिष्ट हुन्छ भनेका थिए, दक्षिणगामी शासकहरूको कानमा बतास लागेको अकिंचनले पाएको छैन)। त्यसै क्रममा त्यहाँ तैनात सुरक्षाकर्मीहरूको अनुमति लिएर दरबारको लामो लंगमा हतारहतार हिँडेको, त्यहाँको एउटा कक्षमा (शायद) राखिएका नेपालका बग्रेल्ती प्रधानमन्त्रीका तस्वीरहरू हेरेको अनि त्यस विशाल दरबारको दक्षिणपश्चिम कुनामा रहेको फोहरा अनि त्यसै छेउ रहेको चौरमा रहेको रूखकमलको बोटमुनि एकैछिन बसेर जीवनभरका लागि सिंहदरबार भोगेको जस्तो लाग्छ।
संयोग नै भन्नुपर्छ, त्यसपछिको व्यावसायिक जीवनका २५ वर्षमध्ये करिब १५ वर्ष त्यही छिमेकमा बिताएको अकिंचनका लागि उक्त दरबार हनुमानथान-अनामनगर-पुतलीसडकलाई खोला नै मान्दिने हो भने खोलाको पल्लो किनार भइदियो।
बडेबडे शहरोंमे ऐसी छोटीछोटी बातें होती रहती है। क्यों, ठिक कहा ना भाइसाहब?
त्यसो त आफ्ना पिता सरकारी सेवामा रही विशिष्ट श्रेणीको अधिकृतको रूपमा अवकाश पाएको हुँदा त्यो साइनोलाई थोरै स्तरोन्नति गर्दा होला तर ढाडमा हाड हुने, इमान्दार, कर्तव्यनिष्ठ प्राणीहरूलाई कालापानीको सजाय दिने शासकीय ‘विशिष्ट’ परम्परा सम्झिल्याउँदा ‘ये रिश्ता क्या कहलाता है’ भन्ने यक्ष प्रश्नलाई अनुत्तरित नै छाडिदिऊँ है त।
सो क्लोज, येट सो फार, कि कसो सिंहदरबार?
अकिंचनलाई लाग्छ, जुनबेला उक्त संस्थाको स्थापना भएको थियो, त्यतिबेलासम्म हाल कम्प्युटर प्रविधि, डेटा सायंस, इन्टरनेट अभ थिंग्स, कृत्रिम बौद्धिकता आदिमा द्रुतगतिमा अघि बढिरहेको इण्डियामा समेत कम्प्युटर प्रोग्रामिंगसम्बन्धी शिक्षा दिने त्यस्तो संस्था स्थापना भइसकेको थिएन।
गड अन्लि नोज हाेला अर्थात् भगवानलाई मात्रै थाहा होला।
एव्री हेलो ह्याज ए गुडबाइ, बट व्हट ए हार्ट-रेन्डिंग गुडबाइ इट वज, गुड ओल सिंहदरबार!