२०८१ पौष २७ गते चितवन भरतपुरमा आयोजित कविडाँडा राष्ट्रिय गजल उत्सव-२०८१ मा डा. दीपक कुमार खड्का आफ्नो गजल वाचन गर्नुहुँदै ।
Dr. Deepak Kumar Khadka is reciting a ghazal at the Kavidanda National Ghazal Festival 2025, held on January 11, 2025, in Bharatpur, Nepal.
म खुइय्यमा आराम लिन्छु, अनि आबुइमा हिँड्छु
के हिसाब, कुनबेला काँडा, कुनबेला रुईमा हिँड्छु
हो, म केही ढल्मलिन्छु, म अल्मलिन्छु पनि
पै’ले पै’ले बुईमा हिँड्थेँ, अहिले म भुईँमा हिँड्छु
दुनियाँलाई पछि पार्दा पनि नजित्ने मै हुँ
समयले एक-दुई-तीन भन्छ, म भने दुईमा हिँड्छु
केले हिँडाउँछ, केमा हिँड्छस्— मानिस मलाई सोध्छन्
म भन्छु— जेले हिँडाउँछ त्यसकै टुइँटुइँमा हिँड्छु
एक दिन जिन्दगीलाई कोट्याउँदै सोधेँ— केमा हिँड्छस्?
उसले हिँड्दै भन्यो— म त घडीको सुईमा हिँड्छु
उडिरहेको पातलाई रोक्दै सोधेँ— केमा हिँड्छौ?
उसले कानमा भन्यो— म त हावाको फुइँमा हिँड्छु