GAUTAM TEMPLE गाैतम कुल देवता

Опубликовано: 02 Сентябрь 2026
на канале: Sandeep Gautam
37
5

गाैतम कुल देवता पुजामा बलि राेकिएकाे कथा !
जीवनपुर गाैतमहरुकालागि प्रसिद्ध क्षेत्र हाे। नारायण संकिर्तनका अनुयायी सन्त कविप्रसाद गाैतम र संस्कृत साहित्यका धुरन्धर विद्वान कुलचन्द्र गाैतमका कारण याे क्षेत्र अधिक चर्चामा रहेको छ।
याे क्षेत्र गाैतम बहुल क्षेत्र हाे। यहाँ बदरिनाथ पाध्या (३६) वंशका सन्ततिहरुकाे घना बस्ती रहेको थियो । कुल पितृ काे मान सम्मान गर्नु पुजा स्मरण गर्नु हामी सबैकाे प्रथम कर्तव्य हाे। हामी सबैलाई आआफ्ना कुल पितृलाई पुजा स्मरण गरेकै हुन्छ।
हरेक क्षेत्रमा स्थानीय कुराकाे प्रभाव परेकाे हुनाले गाैतमहरुकाे पुजा विधि एकै नासकाे छैन । एक क्षेत्रमा गरिने कुल पुजा विधि र अर्को नजिकैको क्षेत्रमा भइरहेको कुल पुजा विधिमा पृथकता रहेको पाइन्छ।
कुल पुजामा कतै काला सेता निख्खर बाेकाकाे वली दिएर ३/३ बर्षमा देवाली पुजा गरेर कुल देवता भाकिन्छ। कतै प्रतीककाे रुपमा एउटा मात्रै बाेका या पाठी काटेर पुजा गरेको पनि पाइन्छ कतै छ/छ महिनामा वली दिएर कुल पुजा गरिएको पनि पाइन्छ।
कतै खीर मालपुवा,हलुवा,फलफूल ,राेटी,बाबर,मिठाइँ आदिले पुजा गरिएकाे पनि पाइन्छ ।
धादिङ जीवनपुरका गाैतमकाे कुलपुजा बारे बिबेचना गर्दा इतिहासमा यहाँ हरेक घरबाट १/१ निख्खर बाेका ल्याएर या कसैकसैले बढभाग,हर्ष भाग,नियमित गरि २/३ बाेका समेत ल्याएर वली सहितकाे कुल पुजा गर्ने गरिंदाे रहेछ।
यस्तो चलन चलेको शैयाैं बर्षपछि जीवनपुरकाे कुल पुजामा एउटा घटना घटेछ।
कुल पुजा हुने धान्य पूर्णिमाका दिन हरेक घरबाट १/१ गरि शय भन्दा बढि बाेका सहित जीवनपुरे गाैतमहरु भञ्ज्याङ छेउमा रहेको पुजास्थलकाे जङ्गलमा एकत्रित भएछन्।
विधिवत् रुपमा मण्डला बारेर चमर, घण्टा,शंख,पहिरन सहित कुल धामीबाट दियाे कलश गरि गणेश महेश,महालक्ष्मी,लाटा मष्ट आदि भाकेर अनुष्ठान सुरु भयो। तब परम्परा अनुसार बली दिनकालागि बाेकालाई पुजा गरि बाेका पर्सेर तयारी समेत गरियो । बलीकालागि कत्ती,तरबार,अचानाे र काट्ने मानिस सबै तयारी भएको अबस्थामा सन्त कविप्रसाद गाैतम अगाडि सर्नु भएछ।
उहाँ भगवान् काे भक्त र नारायण साधक रहनु भएको थियो । तेसबेला उहाँको तप साधना र नारायण संकिर्तनकाे चर्चा धेरै तिर फैलिइ सकेको थियो । बलीकाे प्रसंगमा पुगेकै बेलामा उहाँले अचानाेकाे छेउमा गएर यी बाेकाहरुमा जुन प्राण छ,तेहि प्राण ममा पनि छ। तपाई हामी र प्राणी जति सबै एकै ईश्वरका सन्तान हाैं। बाेका काटेर भाेग चढाउनु र मलाई काटेर भाेग चढाउनु एकै भएकोले "बली नै दिने हाे भने बली दिने सुरुवात म बाट गर ! पहिले म कविप्रसा गाैतमलाई काटेर चढाउनु अनि क्रमश: क्रमशः भएका सबै बाेकाहरु काटेर चढाउनु" भनी सन्त कविप्रसादले अचानाेलाई सिह्रानी लाएर सुत्नु भएछ।
नाता गाेता सहित उपस्थित भएका शैयाैंकाे जमात अक्कनबक्क भयो । सबै अबाक्य भए । यताउता खुसुर फुसुर सुरु भयो । उहाँको हाँकलाई उत्तर दिन कसैको आँट आएन। उहाँकाे प्रतिवाद गर्न सजिलो पनि थिएन ।
केही बेर खस्याकखुसुक भए।एकान्त चल्न थाले। पछि कसैले हिम्मत गरेर बली दिने चलन पुर्खाबाट चलि आएको परम्परा हाे, बली दिन पाउनु पर्छ भन्ने राय पनि राखे। नखाने जतिले नगर्नु नखानु बलि दिन कर बाध्यता छैन तर हामीले बली दिन पाउनु पर्छ भनी उफ्रिए पनि। सन्त कविप्रसादलाई सम्झाउन बुझाउन पनि खाेजे। हल्लीखल्ली नै भयो ।अब के हुने हाे? एउटा अनिश्चयकाे वातावरण बन्याे। कुल देवताकाे पुजा नगर्दा परिवारमा ठूलो हानी हुने भनाइ रहेकोले यस प्रकरणले कतै कुल देवता रिसाउने पाे हुन् कि? अनिष्ट हुने हाे कि? सन्त्रास पनि भयो । कुल पुजा नै नहुने जस्तो अबस्था देखियो तर सन्त कविप्रसाद गाैतम अडिग थिए। उनी आफ्नाे अडानबाट टसकाेमस भएनन्। अचानाेबाट उठ्दै उठेनन्।
तब कुलपुजामा उपस्थित अग्रजहरुकाे तत्काल सरसल्लाह भयाे। तेहाँ भएका मानिसहरु दुई पक्षमा बिभाजित भए । बली सहि हाे र सहि हैन विच लामो बहस चल्यो अन्तिममा सन्त कविप्रसादकाे भनाइ स्वीकारेर प्राणीको हत्या नगरी कुल पुजा गर्ने रायका बन्धुहरुकाे संख्या अधिक भएपछि उप्रान्त जीवनपुर क्षेत्रमा कुलपुजा गर्दा गणेश,महेश,महालक्ष्मी ,कटारमल्ल र लाटा मष्टकाे पुजा गर्दा फूल,फल,खीर,बाबर हलुवा,मिठाइँ चढाएर निरामिष पद्धतिमा कुल पुजा गर्ने शर्तमा बली रहित कुल पुजा गरियो ।
निरामिष पद्धतिबाट वेद,रुद्रि पाठ गरि फूल फलेदाे मिठाइँ सहित पुजा गरिए पछि बन्धुहरुले चढाउन भनी लगेका बाेका घरमा फिर्ता लाने र नलानेमा पनि बहस भयो । अन्तिममा कुललाई अर्पण हेतु भाकेर ल्याइएका बाेका घरमा फिर्ता लैजाँदा कुनै अनिष्ट हाेला भन्ने भयले बाेका तेहि जंगलमा छाडिएको समेत इतिहास रहेको छ।
पूर्वज बालकृष्ण पाध्या जीवनपुरबाट काठमाडौ तर्फ बसाइँ सर्नु भएको रहेछ। सन्त कविप्रसादका पिता कवि कुञ्जबिलास गाैतम र सन्त कविप्रसाद पनि काठमाडौंमा नै जन्मनु भएको रहेछ। उहाँको जन्म चैत्र शुक्ल पूर्णिमा १९६० र परमधाम गमन बि.सं.२०४२ मा फागुन १७ गते पशुपति जीवनकुञ्जमा भएको हाे। उहाँले बि. सं.१९९२ देखि कुल पुजामा बलि दिन राेक लगाउनु भएको थियो । उनै सन्त कविप्रसाद गाैतमकाे अडानका कारण यस वंशमा कुलपुजा देवालीमा बलीप्रथा अन्त्य भएको पाइन्छ । बली प्रथा अन्त्य भए पनि वैदिक विधि अनुसार कुल पुजा भने हरेक ३/३ बर्षमा निरन्तर रुपमा भइरहेको छ।
जय बन्धु